“सासु–बुहारीबीच हुने झगडा हटाएर आमाछोरीजस्तो सम्बन्ध बनाउन यो कार्यक्रम प्रेरणादायी हुनेछ। यसले समाजमा सकारात्मक सोच विकास गर्न सघाउ पुर्याउनेछ।”
सिन्धुली, असार ५ ।
सिन्धुलीको फिक्कल गाउँपालिकाले समाजमा आपसी समझदारी र सहिष्णुताको भावना अभिवृद्धि गर्ने उद्देश्यले पाँच जोडी उत्कृष्ट सासु–बुहारीलाई सम्मान गरेको छ । बिहीबार आयोजित कार्यक्रममा उनीहरूलाई जनही ५ हजार ५ सय रुपैयाँ नगद, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
लैङ्गिक हिंसा रहित सभ्य समाज निर्माण गर्ने उद्देश्यका साथ सासु–बुहारीको सम्बन्धलाई आमाछोरीको जस्तै बनाउन प्रेरणा मिलोस् भन्ने भावनासहित यो सम्मान कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
सम्मानित सासु–बुहारीमध्ये वडा नं. २ बाट बिष्णुमाया आले र हरिमाया आले, वडा नं. ३ बाट इन्दिराकुमारी पहाडी र सुष्मा धमला, वडा नं. ४ बाट बिन्दुमाया मगर र मनमाया मगर, वडा नं. ५ बाट मसिनीमाया राई र लालकुमारी राई तथा वडा नं. ६ बाट बुद्धमाया कामी र निर्मला कामी रहनुभएको छ ।
उनीहरूलाई गाउँपालिका अध्यक्ष पार्वती सुनुवार र उपाध्यक्ष राजु बरालले सम्मान गर्नुभएको थियो। चालु आर्थिक वर्ष ०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत उनीहरूलाई सम्मान गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष राजु बरालका अनुसार सासु–बुहारीबीच सामान्यतया देखिने झगडालाई हटाई पारिवारिक सम्बन्धलाई प्रेम, सम्मान र समझदारीमा आधारित बनाउन यो कार्यक्रम प्रेरणादायी हुनेछ ।
उत्कृष्ट सासु–बुहारी छनोटका लागि वडा सचिवहरूको संयोजकत्वमा प्रत्येक वडाबाट महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य संयोजक, महिला सहकारी संस्थाका पदाधिकारी, आमा समूहका अध्यक्ष तथा वडा अध्यक्षहरू सल्लाहकारका रूपमा रहेको समितिले सिफारिस गरेका थिए ।
गाउँपालिकाले यो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिई समाजमा सकारात्मक व्यवहार र संस्कारको प्रवर्द्धन गर्ने योजना रहेको जनाएको छ ।