सिन्धुली, असार ६ ।
बर्खाको मौसमी जोखिम बढेसँगै बीपी राजमार्गको रात्री सवारी सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाइएको छ । आगामी १५ दिनसम्म राति ६:३० बजेबाट बिहान ५:०० बजेसम्म मालवाहक गाडीबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।
काभ्रे, सिन्धुली र रामेछाप जिल्लाका प्रमुख सुरक्षा अधिकारीहरूको संयुक्त अन्तरजिल्ला सुरक्षा समन्वय समितिको शुक्रबार मूल्कोटमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माका अनुसार, “राजमार्गको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड विशेष रूपमा जोखिमयुक्त भएकाले यस्तो निर्णय लिइएको हो ।”

उनका अनुसार, काठमाडौंबाट बाहिरिने सवारी साधनलाई काभ्रे भञ्ज्याङमा रोक लगाइनेछ भने काठमाडौंतर्फ गइरहेका गाडीहरू सिन्धुलीको खुर्कोटमा रोकिने व्यवस्था मिलाइएको छ । मालवाहक गाडीहरूलाई भने विषेश अवस्था र आवश्यकता अनुसार सञ्चालन गर्न छुट दिइनेछ ।
पर्खाल भत्किने, पहिरो खस्ने, सडक चिप्लिने, भिजेका ठाउँमा गाडी चिप्लिने तथा रातिको समय अँध्यारो हुनेजस्ता कारणले दुर्घटनाको सम्भावना बढेकाले यातायातमा अस्थायी रोक लगाउनुपरेको शर्माले बताए । “सडकका धेरै खण्डमा बर्खाले क्षति पुर्याइसकेको छ । जनधनको क्षति हुन नदिन सुरक्षा निकाय र प्रशासन मिलेर निर्णय गरेका हौं,” उनले स्पष्ट पारे ।
यस निर्णयले बीपी राजमार्गमा दिनप्रतिदिन बढ्दै गइरहेको सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । विशेषतः रातिको समयमा गाडी चलाउँदा थुप्रै ज्यान गुमाउने र गम्भीर घाइते हुने अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएकाले यात्रुहरूले वैकल्पिक व्यवस्था अपनाउन र यात्रा समय व्यवस्थापन गर्न सुरक्षा निकायले आग्रह गरेका छन् ।
प्रशासनले यो निर्णय तत्काल कार्यान्वयनमा ल्याइने र आवश्यक निगरानीका लागि ट्राफिक प्रहरी र सुरक्षाकर्मीहरू खटाइने जानकारी दिएको छ । राजमार्ग प्रयोग गर्ने यात्रु, चालक र यातायात व्यवसायीलाई पनि यसबारे जानकारी गराइसकिएको जनाइएको छ ।
सिन्धुली, काभ्रे र रामेछापका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेना, ट्राफिक प्रहरी तथा सम्बन्धित निकायका प्रमुखहरूको उपस्थितिमा भएको बैठकले सडक सुरक्षालाई प्राथमिकता दिँदै यस किसिमको निर्णय लिएको हो ।
यात्रीहरूलाई असुविधा नहोस् भनेर स्थान–स्थानमा सूचना राख्ने, सामाजिक सञ्जालमार्फत जानकारी दिने तथा आकस्मिक अवस्थाका लागि स्थानीय तह र उद्धार टोलीलाई तयारी अवस्थामा राखिने प्रशासनले जनाएको छ ।
यस निर्णयबाट यात्रुहरू असहज भए पनि यसको उद्देश्य सुरक्षालाई प्राथमिकतामा राख्नु भएकाले सबै पक्षले सहयोग गर्नुपर्ने सुरक्षा अधिकारीहरूको भनाइ छ ।