Click Chautari

सिन्धुलीमा ११ महिनामा ४७१ शिशुको जन्म, ४८ जनाको अझै घरमै सुत्केरी

सिन्धुली —

Advertisement

आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठ महिनासम्मको ११ महिनामा सिन्धुली जिल्लामा ४७१ जना शिशुको जन्म भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार तीमध्ये ४२३ जना शिशु स्वास्थ्य संस्थामा जन्मिएका छन् भने ४८ जना शिशुको जन्म अझै पनि घरमै भएको छ ।

जनस्वास्थ्य कार्यालयका प्रमुख बिमल पटेलका अनुसार अस्पताल तथा बर्थिङ सेन्टरमा सुत्केरी हुने संख्या वृद्धि हुँदै गएको भए पनि केही ग्रामीण क्षेत्रमा अझै पनि महिलाहरू घरमै जोखिम मोलेर बच्चा जन्माउने गरेका छन् । सबैभन्दा धेरै घरमै शिशु जन्मिने पालिकामा हरिहरपुरगढी गाउँपालिका अगाडि देखिएको छ जहाँ १२ जना शिशुको जन्म घरमै भएको हो । फिक्कलमा ११ जना र घ्याङ्लेख गाउँपालिकामा १० जना शिशु घरमै जन्मिएका छन् । त्यसपछि कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिकामा ५–५ जना, तीनपाटन र गोलञ्जोरमा २–२ जना तथा दुधौली नगरपालिकामा १ जना शिशुको घरमै जन्म भएको जनाइएको छ। मरीण गाउँपालिकामा भने घरमै कुनै पनि शिशु जन्मिएको रेकर्ड छैन, जुन उत्साहजनक संकेत हो।

Advertisement

सिन्धुली जिल्ला अस्पतालमा मात्र ११ महिनामा ४२० जना शिशुको जन्म भएको छ। अस्पतालका व्यवस्थापक विमल श्रेष्ठका अनुसार साउनमा ४९, भदौमा ३५, असोजमा २०, कार्तिकमा ४९, मंसिरमा ४१, पुषमा २२, माघमा ३५, फागुनमा ३४, चैत्रमा ४६, वैशाखमा ३८ र जेठ महिनामा सबैभन्दा धेरै ५४ जना शिशुको जन्म भएको हो। गत वर्ष अस्पतालमा ४३३ जना शिशुको जन्म भएको थियो। यस वर्ष अस्पतालमा जन्म हुने शिशुको संख्या जेठसम्ममै ४२० पुगेकोले सामान्य वृद्धि देखिएको जनाइएको छ।

स्वास्थ्य संस्थामा शिशु जन्म दिने आमाहरुको उमेर २० देखि ३९ वर्षको समूहमा बढी देखिएको छ। डाक्टरहरूका अनुसार बच्चा जन्माउने उपयुक्त उमेर २० देखि ३० वर्ष हो। त्यसभन्दा कम उमेरमा सुत्केरी हुँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भीर जोखिम हुन सक्छ। खासगरी ग्रामीण क्षेत्रका कम उमेरका किशोरीमा अझै पनि असुरक्षित मातृत्वको चुनौती कायमै रहेको देखिन्छ।

अस्पतालमा नयाँ भवन निर्माण भएपछि सेवा सुविधा थप सुदृढ भएको र नागरिकको भरोसा बढेसँगै सुरक्षित सुत्केरी सेवा लिने संख्या बढेको जनाइएको छ। तर अझै पनि केही महिलाहरूले घरमै बच्चा जन्माउने परिपाटी नछाड्दा मातृ तथा शिशु मृत्युदरमा सुधार ल्याउन चुनौती भइरहेको स्वास्थ्यकर्मीहरू बताउँछन्। घरमै सुत्केरी गराउने परम्परा अन्त्य गर्न समुदायस्तरमै सचेतना अभिवृद्धि र स्वास्थ्य संस्थाको पहुँच अझै सुदृढ गर्नु अपरिहार्य देखिन्छ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.