सिन्धुलीमा २०६० सालमा श्रीमान–श्रीमतीको धारिलो हतियारले हत्या गरी फरार रहेका केदार सिंह थापा २२ वर्षपछि दाङबाट पक्राउ परेका छन् । अदालतले उनलाई थुनामा राखी अनुसन्धान गर्न ५ दिनको म्याद दिएको छ ।
सिन्धुली, असार २५ । २२ वर्षअघि विभत्स ढंगमा श्रीमान–श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले लामो अनुसन्धानपछि पक्राउ गरेको छ । प्रहरीले मानव हत्या जस्तो गम्भीर अपराधमा संलग्न भई फरार रहेका केदार सिंह थापालाई दाङको लमही नगरपालिका–९, जलकुण्डीबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, मिति २०६० साल मंसिर ६ गते राति सिन्धुलीको तत्कालीन अरुणठाकुर गाविस–८ (हालको दुधौली नगरपालिका–१३) मा वर्ष ४५ का रत्नबहादुर कार्की र उनकी श्रीमती दुर्गामाया कार्कीको धारिलो हतियार प्रयोग गरी विभत्स ढंगमा हत्या गरिएको थियो । हत्यामा शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको विवरण छ ।
उक्त जघन्य घटनापछि मृतक दम्पतीका छोरा दुर्गा बहादुर कार्कीले जिल्ला उदयपुरको मयङ्खु गाविस–६ (हालको कटारी नगरपालिका–१३) निवासी तत्कालीन ३५ वर्षीय केदार सिंह थापाविरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरीपश्चात् थापा घटनास्थलबाट फरार रहँदै आएका थिए ।
प्रहरीको निरन्तर खोजीपछि उनी मिति २०८२ साल असार २३ गते दाङ जिल्लाको लमही नगरपालिका–९ जलकुण्डीमा लुकी बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
पक्राउपछि उनलाई सिन्धुली ल्याई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार, आज मिति २०८२।०३।२५ गते सम्मानित सिन्धुली जिल्ला अदालतबाट थापालाई थुनामा राखी अनुसन्धान गर्न ५ (पाँच) दिनको म्याद थप गरिएको हो ।
२२ वर्षअघि गरिएको दुईजनाको विभत्स हत्या र त्यसपछि लामो समय लुकिछिपी बसेका अभियुक्तको पक्राउले प्रहरीले गम्भीर अपराधमा संलग्न जोकोहीलाई उन्मुक्ति नदिने दृढता पुष्टि गरेको छ ।