सिन्धुलीको बीपी राजमार्गमा पैदल यात्रीको सुरक्षाका लागि माझिटार, मल्लगाँउ, भिमान र खनियाखर्क क्षेत्रमा करोडौं लगानीमा सडक पेटी निर्माण हुँदै। स्थानीयले सुरक्षित हिड्डुलमा राहत महसुस गर्दै।
सिन्धुली, असार ३२ । बीपी राजमार्गमा सबारी चाप बढेसँगै पैदल यात्रीहरु हिड्डुल गर्नका लागि सडक पेटी निर्माण गरिएको छ ।
सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीले कमलामाई नगरपालिकाको माझिटार, मल्लागाँउ, भिमान र गोलन्जोर गाँउपालिकाको खनियाखर्क क्षेत्रमा बीपी राजमार्गमा जोडेर सडक पेटी(फुटपाथ) निर्माण गरेको हो । सडक पेटी निर्माणसँगै पैदल यात्रीलाई हिड्डुल गर्न सजिलो भएको स्थानीयले बताएका छन् ।
मल्लगाँउ क्षेत्रमा बिगत डेढ महिनादेखि बीपी राजमार्गको क्षेत्राधिकारभित्र पैदल यात्री हिड्डुलका लागि सडक पेटी निर्माण कार्य भई रहेको स्थानीय बलराम अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मानिसको बढी चहलपहल हुने ठाँउ हेरेर बीपी राजमार्गमा बनाएको सडक पेटीले पैदल यात्रीलाई धेरै सजिलो भएको छ ।’

‘बीपी राजमार्ग साँगुरो भएका कारण उक्त सडक पेटी नहुदा पैदल यात्रीलाई हिड्डुल गर्न साह्रै जोखिम र कठिन थियो,’ उहाँले थप्नुभयो, ‘सबारी चापका कारण हरेक दिन बिहान ९ बजेपछिदेखि एक÷दुई बजेसम्म बीपी राजमार्ग निकै व्यस्त रहन्छ । त्यो समयमा बाटो पैदल यात्रीलाई बाटो काट्न पनि मुस्किल हुन्छ ।’
केडिएन ब्रदर्श प्रालिले एक करोड ३४ लाख रुपियाको लागतमा मल्लगाँउमा ४६० मिटर र खनियाखर्क क्षेत्रमा ३६० मिटर लम्बाईको सडक पेटी निर्माण काय गरि रहेको छ । त्यस्तै सुनापाती कन्ट्रक्सन प्रालिले एक करोड १२ लाख रुपिया लागतमा माझीटारमा तीन सय मिटर लम्बाईको र रोईलिङ् कन्ट्रक्सन प्रालिले भिमानमा पाँच सय मिटर लम्बाईको सडक पेटी बनाई रहेको सडक डिभिजन कार्यालय खाल्टेले जनाएको छ ।
सडक पेटी निर्माण रेखदेखमा संलग्न कार्यालयका प्राविधिक नबिन चौलागाईले सडक पेटीको चौडाई डेडमिटर रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सडक पेटी निर्माण कार्य मल्लगाउ क्षेत्रमा अन्तिम चरणमा पुगेको छ । माझीटारमा ७५ प्रतिशत, भिमानमा ९५ प्रतिशत सकिएको अवस्था छ ।’
आवश्यकता अनुसार रिटेनिङ्वाल, छेउमा रेलिङ् र इटा बिच्छ्याएर प्राविधिक स्टिमेट अनुसार सडक पेटी निर्माण कार्य भई रहेको उहाँको भनाई छ ।
सुर्य विनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक (बीपी राजमार्ग) आयोजनाले गत बर्ष पनि बीपी राजमार्गको मल्लगाउ, रातमाटा, माझीटार क्षेत्रमा सडक पेटी निर्माण गरेको र निर्माणमा लापर्बाही गर्नाले माझीटार क्षेत्रमा सडक पेटी भत्किएको अवस्था रहेको स्थानीयले गुनासो गरेका छन् ।