सिन्धुली, श्रवण २ । सिन्धुलीको खुर्कोट बजारस्थित चेकपोष्टमा इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले बिल बिजकविनाको लत्ताकपडा र सामग्री बोकेको कार नियन्त्रणमा लिएको छ। साउन २ गते चेकिङका क्रममा बा.प्र.०१–०३१ च ८३५९ नम्बरको कारबाट कुनै कानुनी कागजात नदेखाइएका कपडा फेला परेको हो।
प्रहरीका अनुसार उक्त कारमा कालो झोलामा राखिएको १७६ थान कुर्ता सुरुवाल, ३४ थान टिर्सट, २९ थान वानपिस र २४ थान वानपिसको सुरुवाल फेला पारिएको थियो। कुर्ता सुरुवालको मूल्य प्रति थान २,५०० रुपैयाँका दरले ४ लाख ४० हजार, टिर्सट ५०० दरमा १७ हजार, वानपिस १,५०० दरमा ४३ हजार ५ सय र वानपिसको सुरुवाल ६०० दरमा १४ हजार ४ सय मूल्यांकन गरिएको छ।

सवारीसाधनसहित सामानको कूल अनुमानित मूल्य ४० लाख १४ हजार ९ सय रुपैयाँ रहेको छ। प्रहरीका अनुसार सामानको कुनै पनि कारोबार बिल नदेखिएकोले उक्त कार र सामानलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय जलेश्वर, महोत्तरी पठाइएको हो।
प्रहरीले नियमित निगरानीका क्रममा फेला पारेको यस घटनाले भन्सार छलि गर्दै व्यापार गर्न खोज्नेहरू विरुद्धको निगरानी अझ कडा बनाइने संकेत गरेको छ। नियन्त्रणमा लिएका चालक तथा सम्बन्धित व्यक्तिको विवरण भने अनुसन्धान पश्चात् सार्वजनिक गरिने जनाइएको छ।