बागमती प्रदेश सरकारको सहयोगमा सिन्धुलीका खोलामा १४ वटा पक्कि पुल निर्माण सम्पन्न, ग्रामीण यातायात सञ्जाल विस्तार हुँदै।
सिन्धुली, साउन ६ । बागमती प्रदेश सरकारको सहयोगमा सिन्धुली जिल्लामा यो बर्ष चार वटा पक्कि पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् ।
बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्लाको ग्रामीण क्षेत्रका भित्र सडकका विभिन्न खोला तथा नदीहरुमा यी पुल सहित हालसम्म १४ वटा पक्कि पुल निर्माण सम्पन्न भई सकेका छन् । गत आर्थिक बर्ष ०८१/०८२ मा ठेक्का लागि सम्पन्न भएका पक्कि पुलहरुमा कमलामाई नगरपालिका–२ चियावारीस्थित ग्वाङ्खोला पुल, घ्याङ्लेख गाँउपालिका–२ स्थित ठाडीखोला पुल, सुनकोसी गाँउपालिका–५ स्थित सातबिसे भोटेखोला पुल र कमलामाई नगरपालिका–४ कुमालफाँट जोड्ने ग्वाङखोला पुल रहेका पुर्वाधार विकास कार्यालय सिन्धुलीले जनाएको छ ।

कार्यालय प्रमुख लक्ष्मीप्रसाद सापकोटाले चार वटै पक्कि पुल एकै बर्षमा ठेक्का लागि तोकिएको समयभन्दा अघि नै निर्माण सम्पन्न भएका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘निर्माणाधिन घ्याङ्लेख गाँउपालिका–३ मा तामाजोर खोला र सुनकोसी गाँउपालिका–६ मा आरुबोटे खोला पक्कि पुल लगभग सकिएको अवस्था छ । पुलबाट गाडी कुद्न थालि सकेको छ । केही काम बाँकी छ ।’
ग्रामीण क्षेत्रका भित्र सडकका विभिन्न खोलाहरुमा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा पक्कि पुल निर्माणसँगै यातायात सञ्चालन सहज बन्दै गएको उहाँले बताउनुभयो । कार्यालयका अनुसार जिल्लाका विभिन्न खोलानालामा अझै चार वटा पक्कि पुल निर्माणाधिन अवस्थामा रहेका छन् । पक्कि पुलको अभावमा हिउदको मौसममा मात्रै यातायात सञ्चालन हुने ग्रामीण सडकमा पुल बनेसँगै बाह्रै महिना यातायात सञ्चालन हुन थालेको छ । गत आर्थिक बर्षमा तीन वटा पक्किपुल बहुबर्षिय प्रकृयामा नयाँ ठेक्का लागेको छ ।

गत आर्थिक बर्ष ०८१/०८२ मा ठेक्का लागि सम्पन्न भएका पक्कि पुलहरु मध्ये कमलामाई नगरपालिका–२ चियावारीस्थित ग्वाङ्खोला पुल तीन करोड ९० लाख रुपियाको लागतमा निर्माण सम्पन्न भएको हो । यो पुल २०८१ साल असार २ गते सिद्धकाली/जिवन जेभिले सम्झौता गरी निर्माण सम्पन्न गरेको हो । त्यस्तै घ्याङ्लेख गाँउपालिका–२ स्थित ठाडीखोला पक्कि पुल सृजना निर्माण सेवाले २०८१ जेठ १४ गते सम्झौता गरी करिब छ करोड रुपिया लागतमा निर्माण सम्पन्न गरेको कार्यालयले जनाएको छ ।
त्यस्तै सुनकोसी गाँउपालिका–५ स्थित सातबिसे भोटेखोला पुल जिवन/दाहाल/जयगोरख जेभिले गत बर्ष असारमा सम्झौता गरी तीन करोड ६० लाख रुपियाको लागतमा निर्माण सम्पन्न गरेको हो । कमलामाई नगरपालिका–४ कुमालफाँट जोड्ने ग्वाङखोला पुल जिवन/दाहाल जेभिले गत बर्ष असारमा नै सम्झौता गरी तीन करोड ८६ लाख रुपिया लागतमा निर्माण सम्पन्न गरेको हो ।
निर्माण सम्पन्न भई सञ्चालनमा रहेका अन्य पक्कि पुलहरुमा कमलामाई नगरपालिका अन्तर्गत मधुटार ग्वाङखोला पुल, कारागार ग्वाङखोला पुल, कमला नदी भिमान् पुल, लुङगेलीटार बौलाखोला पुल, गड्यौलीखोला पुल, हरिहरपुरगढी–७ मा क्यानखोला पुल, दुधौली नगरपालिकमा पित्लेभञ्ज्याङ सडक अन्तर्गत फेदी कुमराह पुल, तीनपाट गाँउपालिकाको लङगुरखोला पुल, फिक्कल गाँउपालिकाको वाक्सुखोला पुल र सुनकोसी गाँउपालिकाको धोबीखोला पुल रहेका छन् ।
अन्य निर्माणाधिन पक्कि पुलहरुमा हरिहरपुरगढी गाँउपालिका– २ र ४ लाई जोड्ने मरिण खोला पुल, सुनकोसी गाँउपालिका–६ को आरुबोटे खोला पुल, गोलन्जोर गाँउपालिकामा बारा–घोक्सिला पुल र घ्याङलेख गाँउपालिका–३ मा तामाजोर खोला पुल रहेका छन् । त्यस्तै बहुबर्षिय प्रकृयामा नयाँ ठेक्का लागेका पक्कि पुलहरुमा दुधौली नगरपालिकास्थित ठाकुरखोला पुल, फिक्कल गााँउपालिकास्थित पौतिखोला पुल र कमलामाई नगरपालिका–१३ स्थित सुनखानी–मडाहा कमलाखोला पक्कि पुल रहेको कार्यालय प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्रोत सुनिश्चित नभएका कारण हरिहरपुरगढी गाँउपालिकास्थित तिनकुना खोला पक्किपुल, कमलामाई नगरपालिका–८ स्थित पुरानो करकरे सिन्दुरेटार पक्किपुल, हरिहरपुरगढी गाँउपालिका–५ स्थित चारखोला पक्किपुल, फिक्कल गाँउपालिका–१ स्थित सिदाली खोला पक्किपुल र दुधौली नगरपालिका–५ स्थित रानीखोला पक्किपुल ठेक्का लाग्न नसकेको हो ।