सिन्धुलीको तीनपाटन गाउँपालिका–२ मा नेवा र गाउँपालिकाको साझेदारीमा सञ्चालित ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत ५९७ घरधुरीमा स्वच्छ खानेपानी सेवा पुगेको छ। ग्रेभिटी प्रणालीमार्फत सञ्चालित आयोजनाले स्थानीयको जीवनस्तरमा सुधार ल्याएको छ। आयोजनामा करिब १९ करोड बराबरको लागतमा ९६ खानेपानी आयोजना सम्पन्न भएका छन्।
तीनपाटन(सिन्धुली), साउन ७ ।
सिन्धुली जिल्लाको तीनपाटन गाँउपालिका–२ मा भिमस्थान चौतारा र चिसापानीटार खानेपानी स्वच्छता तथा सरसफाइ आयोजनाको बुधबार जिल्ला स्तरिय संयुक्त अनुगमन समितिले अनुगमन गरेको छ ।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा) प्रदेश कार्यालय र तीनपाटन गाँउपालिकाको साझेदारीमा आर्थिक बर्ष ०८१/०८२ मा निर्माण भएको उक्त आयोजनाको जिल्ला समन्वय समितिका प्रमुख, उप–प्रमुख, तीनपाटन गाँउपालिका प्रमुख, जिल्ला समन्वय अधिकारी, कमलामाई नगरपालिकाका उप प्रमुख, वडा अध्यक्ष, नेवा प्रदेश कार्यालय प्रमुख तथा कर्मचारीहरु, सञ्चारकर्मी लगायतको टोलीले स्थलगत रुपमा संयुक्त अनुगमन गरेको हो ।
खानेपानीका लागि समस्या झेल्दै आएका तीनपाटनबासी खानेपानी आयोजना निर्माणसँगै ‘एक घर, एक धारा’ निर्माण हुदा हर्षित देखिएका छन् । सो अबसरमा नेवा प्रदेश कार्यालय प्रमुख भरतप्रसाद भट्टले आर्थिक बर्ष ०८१/०८२ मा तीनपाटन गाँउपालिका वडा नं. २ र ८ मा नेवाले गाँउपालिकाको लागत साझेदारीमा पाँच वटा खानेपानी तथा सरसफाइ आयोजना संचालन गरी ‘एक घर, एक धारा’ निर्माण गरेको जानकारी दिनुभयो । ती खानेपानी योजनाबाट ५९२ घरधुरी र सामुदायीक बिद्यालय तथा स्वास्थ्य संस्था गरी जम्मा ५९७ वटा धारा मार्फत स्वच्छ खानेपानी बितरण गरिएको पनि उहाँले बताउनुभयो ।
यी खानेपानी आयोजनाहरु ग्रेभिटि प्रणालीबाट संचालीत आयोजना भएको र कुनै आयोजनाको मुहान खोल्सीबाट ल्याईएको हुदा पानी शुद्विकरणका लागि फिल्टर टंकीहरु निमार्ण गरिनुका साथै मल्टि आरभिटी सिस्टमद्वारा पानी बितरण गरिएको नेवाका योजना अधिकृत नबिन घिमिरेले बताउनुभयो ।
उहाँका अनुसार आयोजनाहरु निमार्णमा नेवाको लागत १ करोड ६९ लाख ५८ हजार, तिनपाटन गाँउपालिकाको ७७ लाख र समुदायको ८२ लाख ६५ हजार रुपिया बराबरको श्रमदान खर्च भएको छ । ती वडामा खानेपानीसंगै स्वच्छता र सरसफाइका कार्यक्रमहरु संचालन भएका छन् । जसअन्तर्गत ५८३ वटा फोहर ब्यवस्थापन खाडल निमार्ण, ५५३ वटा भाडा सुकाउने ब्यवस्थित चाङ, ५४३ वटा सुधारिएको जुठेल्नो तथा ५४३ वटा हातधुने स्थान घर घरमा निमार्ण भएका छन् ।

नेवा प्रदेश कार्यालय सिन्धुलीले गत आर्थिक बर्ष ०८१/०८२ मा सिन्धुली जिल्लाका आठ बटा स्थानिय तह र काभ्रेपलान्चोक जिल्लाका तिन वटा स्थानिय तहमा गरि जम्मा ३१ वटा नया खानेपानी तथा सरसफाइका आयोजनाहरु निमार्ण सम्पन्न भई हस्तान्तरणको क्रममा रहेको जनाएको छ ।
नेवा प्रदेश कार्यालयका अनुसार गत बर्षको भिषण बाढिका कारण प्रभावित भएका सिन्धुली र काभ्रेपलान्चोकमा गरि जम्मा ६० वटा आयोजनाको मर्मत संभार गरिएको तथा पाँचवटा संचालनमा नरहेका आयोजनाको समेत पुर्ननिमार्ण गरिएको छ । ती नया सम्पन्न आयोजनाहरुबाट दुई हजार चार सय पचहत्तर घर धुरीमा खानेपानीका धारा निमार्ण गरिएको छ । साथै ४४८ घर परिवार, २३ वटा बिद्यालय र ३ स्थानिय स्वास्थ्य संस्थाहरुका गरी कुल १९ हजार ७३४ (समुदाय, बिद्यालयतथा स्वास्थ्य संस्थाका) जनसंख्या लाभान्बीत भएका छन् ।
नया तथा पुर्ननिमार्ण गरिएका सबै ९६ वटा आयोजनाहरुमा नेवाको ११ करोड २६ लाख ८६ हजार, सम्बन्धीत सबै स्थानीय तहको ३ करोड ८२ लाख रुपिया आर्थिक सहयोग रहेको र स्थानीय जनश्रमदान चार करोड ११ लाख गरि कुल जम्मा १९ करोड १९ लाख ९० हजार खर्च भएको कुरा प्रदेश कार्यालयका प्रमुख भट्टले बताउनु भयो ।
सिन्धुलीबासीलाई निरन्तर रुपमा स्वच्छ खानेपानी तथा सरसफाइको पहुच बृद्विमा सहयोग पु¥याएकोमा अनुगमनमा संलग्न जिल्ला समन्वय समितिका प्रमुख श्री कारसाङ लामाले खानेपानी जनताले पाउनु पर्ने आधारभुत सुविधा भएको र घर घरमा खानेपानी सुविधा उपलब्ध गराएकोमा नेवालाई धन्यबाद ब्यक्त गर्नुभयो ।
तीनपाटन गाँउपालिका अध्यक्ष कर्णबहादुर थापामगरले तीनपाटन गाउँपालिकामा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत अधिकांश घरधुरीमा खानेपानीको धारा जडान गरिएको बताउनुभयो । गाउँपालिका र नेवाको साझेदारीमा सञ्चालित आयोजना सम्पन्न भएसँगै स्थानीय बासिन्दाले घर आँगनमै शुद्ध खानेपानीको सुविधा पाएका उहाँले बताउनुभयो । स्थानिय सरकारको बिकास निमार्णको कार्यमा नेवाको अतुलनिय सहयोग र सहकार्य रहेको उहाँको भनाई थियो ।