सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ मा उर्मिला हायुको परिवारका १६ जना सदस्य सम्पर्कविहीन भएका छन्। घरमा हल्का आगलागी, अलपत्र जनावर र भाँडाकुँडा भेटिएपछि प्रहरी सक्रिय, स्थानीय त्रसित।
सिन्धुली, साउन १२ । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ छेत्पा नजिकैको भण्डास बिप्पर कटेरीस्थित एक हायु परिवारका १६ जना सदस्य सम्पर्कविहीन भएको खबर सार्वजनिक भएपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ ।
नेपाली कांग्रेस गोलन्जोर गाउँपालिका सभापति मोतिराज सापकोटाका अनुसार उर्मिला हायुको घरमा बसोबास गर्दै आएका १६ जना परिवारका सदस्यहरू केही दिनदेखि सम्पर्कविहीन छन् । उनले बताएअनुसार उक्त घरका वरपर घरेलु जनावरहरू अलपत्र अवस्थामा भेटिएका छन् भने घरभित्र केही हल्का क्षति र आगलागीसमेत भएको छ ।

“तीन दिनदेखि घरको गोठमा बाधिएको भैँसीलाई कोहीले पनि घाँस हाल्न गएको छैन,” सभापति सापकोटाले भने, “घरभित्र सुँगुरको मासु एक भाँडोमा अलपत्र अवस्थामा छ भने बाहिरी भागमा भाँडाहरू फालिएका छन्। त्यहाँ नजिकै २५० रुपैयाँ र लाइटर पनि भेटिएको छ ।”
सापकोटाका अनुसार घटना स्थल एकान्तमा पर्छ र नजिकैका अरू घरहरूसम्म पुग्न कम्तीमा १५ मिनेट लाग्ने भएकाले अन्य व्यक्तिहरूले घटना बारे ढिलै खबर पाएका हुन् । उक्त परिवारका घरमुली केही वर्षअघि एक दुर्घटनामा परेर निधन भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार घटनाको जानकारी पाएसँगै प्रहरी टोली खोजी कार्यमा खटिएको छ। “हाम्रो टोली घटनास्थलमा पुगिसकेको छ,” एसपी सुवेदीले जानकारी दिए, “उनीहरूले केही दिनअघि सामाजिक सुरक्षा भत्ता लिएको देखिएको छ। कतै घुम्न गएको सम्भावना पनि हुन सक्छ । हाल मोबाइल लोकेसनमार्फत खोजी कार्य भइरहेको छ।”
स्थानीय बासिन्दाहरूका अनुसार उक्त घरमा कुल १८ जना सदस्य थिए, जसमा १ जना काठमाडौंमा र अर्का एक जना विदेशमा बसोबास गरिरहेका छन् । बाँकी १६ जना सम्पर्कविहीन भएका हुन्। पशु चौपायाहरू भोकभोकै रहेको छ ।
सिङ्गल घर भएकाले छिमेकीहरूले पनि जानकारी पाउन ढिलो भएको बताइएको छ। सभापति सापकोटाले सम्पर्कमा आउन सक्ने जो–कोहीले तत्काल नजिकको प्रहरी कार्यालय वा स्थानीय तहलाई जानकारी दिन अनुरोध गरेका छन् ।
घटनाको यथार्थ पत्ता लगाउन सुरक्षा निकायले खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ भने स्थानीयहरू भने अचम्म र चिन्तामा परेका छन् ।