सिन्धुली जिल्लामा सञ्चालित सार्वजनिक यातायातका साधनले विद्यार्थी, अपाङ्गता भएका र जेष्ठ नागरिकका लागि सरकारले तोकेको छुट तथा आरक्षणको सुविधा कार्यान्वयन नगरेको गुनासो बढ्दो छ। कानुनले ४५ देखि ५० प्रतिशतसम्म भाडा छुटको व्यवस्था गरे पनि सिन्धुलीबाट सञ्चालन हुने गाडीहरूले सुविधा नदिँदा सेवाग्राही निराश भएका छन्। स्थानीय तहको उदासिनता र सरोकारवाला निकायबीचको समन्वय अभावका कारण यो सुविधा कागजमै सीमित बनेको छ।
कात्तिक १३, सिन्धुली । सिन्धुली जिल्लामा सञ्चालित भाडाका सार्बजनिक यातायातका साधनमा विद्यार्थी, अपाङ्गता भएका र जेष्ठ नागरिकले आरक्षणको सुविधा पाउन सकि रहेका छैनन् ।
सार्बजनिक यातायातका साधनमा भाडामा छुटको सुवधिा सहित आरक्षणको व्यवस्था राज्यले गरेको धेरै बर्ष भएपनि सिन्धुली जिल्लामा त्यो कार्यान्वयन नभएको विद्यार्थी, अपाङ्गता भएका र जेष्ठ नागरिकको गुनासो पाईन्छ ।
सरकारले यातायात व्यवसायिसँगको सहमतिमा परिचयपत्र हुने विद्यार्थीलाई सार्बजनिक यातायातमा ४५ प्रतिशत भाडा छुटको व्यवस्था गरेको छ । ६० बर्ष उमेर नाघेका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई पनि आरक्षणको सुविधासहित भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । भाडादरमा छुटको व्यवस्था भएपनि सिन्धुली जिल्लाबाट काठमाण्डौ, जनकपुर, बर्दिबास, बिरगंज, नारायणगढ, काँकडभित्ता लगायतका ठाँउमा चल्ले कुनै पनि यातायातका साधनले छुट नदिएको पीडितको गुनासो छ ।
जेष्ठ नागरिक सङ्घका जिल्ला अध्यक्ष देबीप्रसाद देवकोटा उक्त सुविधा विधान, नियम कानूनले दिए पनि व्यवहारमा लागू नभएको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘हामी त्यो मुद्धामा लडि रहेका छौं । बिधानमा लागू भएको कुरा गाँउबाटै उपभोग गरेर आउनु पर्छ भन्छन् मन्त्रालयका सचिबहरु । तर, स्थानीय तहले त्यसलाई वास्ता गरि रहेको छैन ।’
राज्यले दिएको उक्त सुविधा सहितको कार्ड जेष्ठ नागरिकसँग भएपनि सुविधा भने उपभोग गर्न नपाएको उहाँको भनाई छ । उहाँको अनुसार सिन्धुली जिल्लामा मात्रै जेष्ठ नागरिकको सङख्या २५ हजारभन्दा बढी रहेको उहाँले जानकारी दिनुभयो ।
‘धेरै पटक मेयर, प्रमुख जिल्ला अधिकारी, एसपी लगायतका सरोकारवाला पक्ष बीच बसेर छलफल पनि ग¥यौ,’ जिल्ला अध्यक्ष देवकोटाले भन्नुभयो, ‘तर कार्यान्वयनमा आउन सकेको छैन ।’ राजधानी काठमाण्डौ जाँदा सार्बजनिक यातायातका साधनमा जेष्ठ नागरिक, अपाङ्गता भएका र महिलालाई सिटको आरक्षण देखेको भए पनि सिन्धुलीबाट चल्ने त्यस्ता गाडीमा त्यो सुविधा समेत नभएको उहाँले बताउनुभयो ।
‘सार्वजनिक यातायातका साधनमा जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले आरक्षण भएको सिट पाउन त परै जावस, झुण्डीएर यात्रा गर्नु पर्ने अवस्था छ,’ अध्यक्ष देवकोटाले भन्नुभयो, ‘राज्यले नियम कानुन त बनायो, स्थानीय तहले कार्यान्वयन गर्न चाँजो नै मिलाउदैन ।’ विद्यार्थी, अपाङ्गता भएका र जेष्ठ नागरिकले पाएको उक्त सुविधा सिन्धुली जिल्लामा भने कागजमा नै सिमित हुन पुगेको विद्यार्थीहरुको गुनासो पाईन्छ ।
नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष भरत बिक जिल्लामा सार्बजनिक यातायात (बस) ले भाडामा विद्यार्थीले पाउने छुट सुविधा केही समय अघिसम्म दिएपनि अहिले बन्द भएको सुनाउन ुहुन्छ । उक्त सुविधा कार्यान्वयनका लागि यातायात व्यवसायिसँग सम्झौताको तयारी भई रहेको बेला जेनजी आन्दोलन भएर अस्तव्यस्त भएको र अहिले त्यत्तिकै अबस्थामा रहेको उहाँको भनाई छ ।
सिन्धुली अपाङ्ग सङ्घको जिल्ला अध्यक्ष बबिता थापा आफ्नो परिचय पत्र बोकेको खण्डमा बसले अपाङ्गता भएका व्यक्तिलाई आरक्षण र भाडामा सहुलियत दिएको भएपनि बोलेरो, ईभि जस्ता साना गाडीले उक्त सुविधा नदिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘त्यसको लागि सरोकारवाला सबैलाई बोलाई छलफल समेत गरेका थियौं । खासै सुनुवाई भई रहेको छैन ।’
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले दशैंअघि यातायात व्यवसायिसँग भएको छलफलमा उनीहरुले विद्यार्थी, अपाङ्गता भएका र जेष्ठ नागरिकलाई उक्त सुविधा दिन तत्परता देखाएको र नदिए कारबाही भोग्न समेत तयार रहेको जनाएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘राज्यले दिएको सुविधा सबैले पाउनु पर्दछ । त्यत्ति बेलै ट्राफिक प्रहरीलाई त्यसलाई कार्यान्वयन गर्न निर्देशन दिईएको हो ।’
सुनौलो बीपी यातायात प्रालिका अध्यक्ष कान्छामान् बलले कतिपय ठूला गाडीले विद्यार्थी भने सित्तै बोक्दै पनि आएको बताउनुभयो । जिल्लाबाट सञ्चालन हुने भाडाका बोलेर, सुमो जस्ता साना गाडीमा भने आरक्षणको सुविधा दिन नसकिने व्यवसायीले बताएका छन् ।



