Click Chautari

सिन्धुलीमा हत्याको ग्राफ उकालो: छ महिनामै पाँच जनाको ज्यान, समाजमा बढ्दो असुरक्षा

सिन्धुलीमा हत्याको ग्राफ उकालो: छ महिनामै पाँच जनाको ज्यान, समाजमा बढ्दो असुरक्षा
Advertisement
  • छ महिनामै पाँच हत्या: सिन्धुलीमा अपराध नियन्त्रण चुनौती बन्दै
    • गत वर्षलाई उछिन्ने संकेत: सिन्धुलीमा हत्याका घटना बढ्दै
  • घरायसी विवाददेखि जग्गा झगडासम्म: सिन्धुलीमा हत्या किन बढ्दैछ?

पुस ५, सिन्धुली । सिन्धुली जिल्लामा दिनप्रतिदिन हत्याका घटना बढ्दै गएका छन् । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामै हत्याको संख्या उच्च देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार चालु आवको छ महिनामा मात्रै जिल्लामा पाँच जनाको हत्या भइसकेको छ । तीमध्ये दुधौली नगरपालिकामा दुई जना, कमलामाई नगरपालिकामा एक जना, गोलन्जोर गाउँपालिकामा एक जना र तीनपाटन गाउँपालिकामा एक जनाको हत्या भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । मृतकमध्ये एक बालिका, दुई पुरुष र दुई महिला रहेका छन् । घटनामा संलग्न आठ जनालाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा भने १२ महिनाको अवधिमा चार जनाको हत्या भएको थियो । उक्त अवधिमा हरिहरपुरगढी गाउँपालिकामा दुई जना, घ्याङलेख गाउँपालिकामा एक जना र दुधौली नगरपालिकामा एक जनाको हत्या भएको थियो । ती घटनामा एक बालिका र तीन पुरुषको ज्यान गएको थियो भने पाँच जना पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीका अनुसार अधिकांश हत्या जग्गाको भागबन्डा, घरायसी विवाद तथा आपसी रिसिबीका कारण भएका छन् । उहाँले चालु आर्थिक वर्षको छ महिना नपुग्दै हत्याको संख्या गत वर्षको कुल संख्यालाई उछिन्ने देखिनु गम्भीर चिन्ताको विषय भएको बताउनुभयो ।

हत्या तथा अन्य अपराधिक घटनाको निरन्तरताले समाजमा डर र असुरक्षा फैलाउने सुवेदीको भनाइ छ । उहाँका अनुसार आर्थिक असमानता, प्रलोभन, चेतनाको कमी, आपसी रिसिबी र खराब नियतजस्ता कारणले यस्ता अपराधले स्थान पाउने गरेका छन् । साथै साना विषयमा पनि सहनशीलता नदेखिनु र व्यक्तिगत स्वार्थ परिपूर्तिका कारण हत्याका घटना बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो ।

अपराध नियन्त्रण र निवारणका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विभिन्न स्थानमा समूह तथा व्यक्तिलक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रहरीको भनाइ छ । प्रहरीले समुदायस्तरमै सहकार्य र सचेतना बढाउन सके यस्ता घटनामा कमी ल्याउन सकिने विश्वास व्यक्त गरेको छ ।

Advertisement
Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.