Click Chautari

वैदेशिक रोजगारीका नाममा करोडौँ रुपैयाँ ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीका नाममा करोडौँ रुपैयाँ ठगी गर्ने पाँच जना पक्राउ, ११ जना पीडितबाट ८३ लाख ५० हजार रुपैयाँ असुलेको आरोप

Advertisement

काठमाडौं, असार १७ । आकर्षक तलब र सहज वैदेशिक रोजगारीको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामाथि विभिन्न व्यक्तिबाट ठूलो रकम असुलेर सम्पर्कविहीन भएको आरोप लागेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पीडितहरूको उजुरीका आधारमा अनुसन्धान गर्दै पाँचै जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेकालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ मा बस्दै आएका सिन्धुपाल्चोकका ४२ वर्षीय वाङ्दी लामा, भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ मा बस्दै आएका रामेछापका ३८ वर्षीय ललित बहादुर तामाङ, काठमाडौं महानगरपालिका–१६ मा बस्दै आएकी धादिङकी ३४ वर्षीया सन्तोषी लामा, काठमाडौं चन्द्रागिरी नगरपालिका–८ का ४१ वर्षीय रामदास महर्जन तथा काठमाडौं महानगरपालिका–१५ का २९ वर्षीय सरिब गिरी रहेका छन् ।

प्रहरीका अनुसार वाङ्दी लामाले अजरबैजान पठाइदिने भन्दै एक जना पीडितबाट ५० हजार रुपैयाँ लिएका थिए । त्यसैगरी ललित बहादुर तामाङले कोसोभो पठाइदिने आश्वासन दिएर एक जना पीडितबाट २ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

यस्तै, सन्तोषी लामाले स्पेन पठाइदिने भन्दै एक जना पीडितबाट १५ लाख रुपैयाँ असुलेकी थिइन् । रामदास महर्जनले संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै सात जना पीडितबाट कुल ४५ लाख रुपैयाँ संकलन गरी सम्पर्कविहीन भएको आरोप छ । त्यस्तै सरिब गिरीले क्यानडा पठाइदिने भन्दै एक जना पीडितबाट २० लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

यी पाँच जनाले वैदेशिक रोजगारीका लागि आकर्षक तलब, छिटो प्रक्रिया र सुनिश्चित रोजगारीको प्रलोभन देखाएर पीडितहरूबाट रकम उठाएपछि सम्पर्कविहीन भएको भन्दै पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए । उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाउँदै उनीहरूलाई विभिन्न मितिमा काठमाडौंका फरक–फरक स्थानबाट पक्राउ गरेको हो ।

Advertisement

प्रहरीका अनुसार वाङ्दी लामा, ललित बहादुर तामाङ र सन्तोषी लामालाई शनिबार पक्राउ गरिएको थियो भने रामदास महर्जन र सरिब गिरीलाई त्यसपछि काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो ।

प्रारम्भिक विवरणअनुसार यी पाँच जनाविरुद्ध कुल ११ जना पीडितबाट ८३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप रहेको छ । अनुसन्धान जारी रहेकाले थप पीडित वा अन्य संलग्न व्यक्तिहरूको विवरण आउन सक्ने प्रहरीले जनाएको छ ।

प्रहरीले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई सरकारी स्वीकृति प्राप्त वैदेशिक रोजगार कम्पनीमार्फत मात्र प्रक्रिया अघि बढाउन, व्यक्तिगत व्यक्तिलाई रकम नदिन तथा कुनै पनि रकम बुझाउनुअघि सम्बन्धित कम्पनीको इजाजतपत्र, श्रम स्वीकृति र आवश्यक कागजात अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेको छ ।

Advertisement

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.