सिन्धुलीमाढी, असार ९
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ आज सोमबार सिन्धुलीमाढीमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी समावेशी खेलकुद कार्यक्रम सम्पन्न गरिएको छ ।
सिन्धुली अपाङ्ग महिला सङ्घको आयोजनामा, कमलामाई नगरपालिका नगर खेलकुद विकास समिति सिन्धुलीको सहयोग र सिन्धुली बहिरा सङ्घ तथा नवज्योति बहिरा माध्यमिक विद्यालयको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक, मानसिक र शारीरिक विकासमा टेवा पु¥याउने, उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने तथा समावेशी समाज निर्माणमा सहयोग गर्ने उद्देश्य राखिएको अपाङ्ग महिला सङ्घ सिन्धुलीकी अध्यक्ष दिपा देवकोटाले जानकारी दिनुभयो ।
कार्यक्रम अन्तरगत विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिएका थिए । छात्रछात्रा बोसिया प्रतियोगिता, छात्रछात्रा भलिबल तथा ह्वीलचेयर दौडजस्ता खेलहरूमा सहभागिता देखिएको थियो ।

नवज्योति बहिरा माध्यमिक विद्यालय जसेदमारका छात्रछात्राहरूले भलिबल प्रतियोगितामा उत्साहजनक सहभागिता जनाएका थिए भने श्री जनज्योति माध्यमिक विद्यालय फोस्रेटारका वैदिक अपाङ्गता भएका विद्यार्थीहरूले बोसिया खेलमा प्रतिस्पर्धा गरेका थिए ।
छात्रछात्रा भलिबल प्रतियोगितामा पहिलो हुने समूहलाई ३ हजार र दोस्रो हुने समूहलाई २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

बोसिया खेलतर्फ छात्र वर्गमा खेमबहादुर बुढाथोकी प्रथम, शीतल ज्ञावा द्वितीय र राजेश थापा तृतीय भए। छात्रा वर्गमा सपना ढुङ्गाना प्रथम, सम्झना विक द्वितीय र आरती विक तृतीय भए । विजेताहरूलाई प्रमाणपत्र, मेडल तथा पुरस्कार स्वरूप प्रथम हुनेलाई १ हजार र दोस्रो हुनेलाई ५ सय रुपैयाँ प्रदान गरिएको थियो ।
त्यस्तै, ह्वीलचेयर दौडमा बिश्वलाल थिङ प्रथम र शिखा खत्री द्वितीय भएका छन् । उनीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्रसहित क्रमशः १ हजार ५ सय र १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
समावेशी खेलकुद कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा उजागर गर्न सक्ने वातावरण सिर्जना गर्नुका साथै समाजमा उनीहरूको सहभागिता र आत्मसम्मान अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।