सिन्धुली/मरिण — मरिण गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ७६ करोड १३ लाख ७८ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभा सातौं अधिवेशनको सोमबार सम्पन्न पहिलो बैठकमा अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ ले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो भने उपाध्यक्ष बिमला माझीले बजेट सार्वजनिक गर्नुभएको हो ।

उपाध्यक्ष माझीका अनुसार चालु आर्थिक वर्षको तुलनामा यो बजेट झण्डै १३ करोड रुपैयाँले वृद्धि भएको हो । अघिल्लो वर्षको तुलनामा बजेटमा उल्लेख्य वृद्धि गरिएको जनाइएको छ ।

गाउँपालिकाले शिक्षा, कृषि, पर्यटन, पूर्वाधार, सुशासन र सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ । “स्कुल हाम्रो, बनाउँ राम्रो” भन्ने नारासहित प्रस्तुत कार्यक्रममा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्य लिइएको छ । गाउँपालिका भित्रका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकका छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउने वातावरण निर्माण गर्ने योजना अघि सारिएको छ ।

विद्यार्थीको नियमित उपस्थितिलाई सुनिश्चित गर्नका लागि विशेष पहल गरिने जनाइएको छ । यसका लागि विभिन्न प्रोत्साहनात्मक कार्यक्रमहरु सञ्चालन गरिने उल्लेख छ ।
कृषि क्षेत्रलाई प्राथमिकता दिँदै किसानहरूका लागि बिना धितो दुई लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने योजना ल्याइएको छ । साथै, “एक टोल एक सामुहिक उत्पादन“, “एक वडा एक उत्पादन” कार्यक्रममार्फत कृषिलाई व्यवसायिक बनाउने र माछापालन लगायत कृषि आधारित व्यवसाय प्रवर्द्धन गरिने बताइएको छ ।

गाउँपालिकाले कृषिलाई पर्यटनसँग जोड्दै कृषि पर्यटनको अवधारणा अघि बढाउने नीति पनि लिएको छ । प्रमुख पर्यटकीय स्थल पञ्चकन्या पोखरीको संरक्षण र प्रचारप्रसार, मधुवनीबाट प्याराग्लाइडिङ सञ्चालन, र स्थानीय जातजाती तथा समुदायको सांस्कृतिक पहिचान संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।
गाउँपालिकाले “समृद्ध मरिण, सुखी मरिणबासी” भन्ने नारालाई केन्द्रमा राखी आर्थिक समृद्धि, सुशासन र गुणस्तरीय सेवा प्रवाहमा जोड दिएको जनाएको छ।