सिन्धुली, असार १०
–कमलामाई नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल १ अर्ब २९ करोड ५९ लाख ४० हजार १६० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले “प्रदेशको ज्ञान, कमलामाईमा योगदान” भन्ने मूल नारालाई आत्मसात गर्दै बजेट र कार्यक्रमहरू तयार गरिएको बताउनुभयो ।
उहाले विदेशबाट फर्केका युवाहरूलाई कृषि, रोजगार र व्यवसायमा प्राथमिकताका साथ आबद्ध गराउने गरी नीति तय गरिएको उल्लेख गर्नुभयो । उहाले बहअन्नुभयो, “कमलामाईलाई समुन्नत, सुरक्षित र समावेशी नगर बनाउने हाम्रो दीर्घकालीन लक्ष्य हो । हामी आत्मनिर्भर अर्थतन्त्रको दिशामा अग्रसर छौं ।”
यसैगरी मंगलबार नगरपालिकाको १६ औं नगरसभा अधिवेशनको पहिलो बैठकमा उपप्रमुख मञ्जु देवकोटाले बजेट र कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।
गत वर्षको तुलनामा यस वर्षको बजेट करिब १६ करोडले कम छ । अघिल्लो वर्ष १ अर्ब ४५ करोड ८९ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको नगरपालिकाले यसपटक व्यावहारिक र प्राथमिकतामा आधारित बजेट सार्वजनिक गरेको बताएको छ ।

सेवा प्रवाह चुस्त बनाउन योजनाहरु
बजेट प्रस्तुत गर्दै उपप्रमुख देवकोटाले नगरबासीलाई सरल, सहज र प्रभावकारी सेवा प्रवाह गर्ने योजनालाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो । उहाले भन्नु भयो , “आर्थिक, सामाजिक, भौतिक पूर्वाधारको सन्तुलित विकास, लैंगिक समानता, सामाजिक समावेशीकरण, दिगो विकास र वातावरणीय संरक्षणजस्ता विषयमा केन्द्रित भएर बजेट तयार गरिएको छ ।”

नगरपालिकाले प्रविधिमैत्री सेवा, उद्यमशीलता विकास, तथा गरिबी निवारणका कार्यक्रमहरूलाई समेत बजेटमा स्थान दिएको छ ।
श्रोत परिचालनको हिसाबले यस्तो देखिन्छ बजेटको स्वरूप
कमलामाई नगरपालिकाले आन्तरिक श्रोतबाट १५ करोड १ लाख ४० हजार आम्दानी हुने अनुमान गरेको छ । यस्तै, संघीय सरकारबाट वित्तीय हस्तान्तरण शीर्षकमा ७५ करोड ४९ लाख रुपैयाँ प्राप्त हुने छ भने प्रदेश सरकारबाट ८ करोड २० लाख २२ हजार आउने अपेक्षा गरिएको छ ।
संघीय राजस्व बाँडफाँडबाट १५ करोड २ लाख ७४ हजार ५८३ रुपैयाँ र प्रदेश राजस्व बाँडफाँडबाट ८ करोड ३४ लाख ६३ हजार ५७७ रुपैयाँ आउने अनुमान गरिएको छ ।
विज्ञापन करबाट ५ लाख ४० हजार, वन रोयल्टीबाट १ करोड २५ लाख, ढुंगा-गिटी-बालुवा करबाट २ करोड, मालपोत तथा रजिष्ट्रेशन बाँडफाँडबाट ४ करोड, मेला महोत्सव र मनोरञ्जन करबाट १ लाख तथा नगद लागत सहभागिता शीर्षकबाट २० लाख आम्दानी हुने अपेक्षा गरिएको छ ।
विनियोजन भएको प्रमुख क्षेत्रगत बजेट यस्तो छ
नगरपालिकाले नगरस्तरीय महत्वका योजनाहरूमा ९ करोड ९ लाख रुपैयाँ विनियोजन गरेको छ । यसबाहेक सञ्चालन तथा प्रशासनीक खर्चका लागि २७ करोड ७२ लाख छुट्याइएको छ ।
प्रदेश समपुरक कार्यक्रम अन्तर्गत २ करोड ४० लाख, प्रकोप व्यवस्थापन कोषमा ५० लाख, कर्मचारी कल्याण कोषमा २० लाख, र पूँजीगत अनुसन्धान तथा परामर्शका लागि ३० लाख विनियोजन गरिएको छ ।
पर्यावरण, समावेशीता र दिगो विकासतर्फको ध्यान
बजेट र कार्यक्रममा वातावरण संरक्षण, जलवायु अनुकूल योजना निर्माण, विपद् न्यूनीकरण, सामाजिक न्याय र समावेशी विकासलाई विशेष प्राथमिकता दिइएको देखिन्छ । योजनाहरू दिगो र परिणाममुखी बनाउने अभिप्रायले नीतिगत सुधार र सरोकारवाला सहभागितामा आधारित योजनाहरू पनि समावेश गरिएका छन् ।
कमलामाई नगरपालिकाले यस वर्षको बजेटलाई सेवा सुधार, पूर्वाधार विकास र युवा उद्यमशीलताको पक्षमा सन्तुलित बनाउने प्रयास गरेको छ। संघीय र प्रदेश सरकारसँगको सहकार्य, आन्तरिक श्रोत परिचालन र प्राथमिकतामा आधारित योजनाले बजेटलाई प्रभावकारी कार्यान्वयनमा लैजान सक्ने अपेक्षा गरिएको छ।