काठमाडौं, असार १४
/ त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको ओपीडी (बहिरङ्ग) सेवा पुनः सञ्चालन गर्ने भएको छ । अस्पताल प्रशासनले आइतबार सूचना जारी गर्दै असार १५ गतेदेखि स्वास्थ्य बिमाअन्तर्गतको ओपीडी सेवा पुनः सुरु गर्न लागिएको जनाएको हो ।अस्पतालका अनुसार स्वास्थ्य बिमा सेवाका लागि छुट्टै टिकट वितरणको व्यवस्था गरिएको छ । बिमा टिकट काउन्टरबाट बिहान ७ बजेदेखि ११ बजेसम्म तथा दिउँसो १ बजेदेखि २:३० बजेसम्म टिकट वितरण गरिनेछ । अस्पतालले सेवाग्राहीलाई तोकिएको समयमै उपस्थित भई सेवा लिन आग्रह गरेको छ ।
त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा बोर्डबाट समयमै दाबी रकम भुक्तानी नपाएको कारण देखाउँदै गत माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतका सम्पूर्ण उपचार सेवा स्थगित गरेको थियो । अस्पतालले बिमा सेवामार्फत उपचार गराउन आउने बिरामीको संख्या निरन्तर बढ्दै गए पनि त्यसअनुसारको रकम बोर्डबाट प्राप्त नभएकाले सेवा सञ्चालन गर्न कठिनाइ भएको जनाएको थियो ।
अस्पतालका अनुसार स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत उपचार सेवा सञ्चालन गर्न मासिक करिब पाँच करोड रुपैयाँ खर्च हुने गरेको भए पनि स्वास्थ्य बिमा बोर्डबाट दाबी गरिएको रकमको करिब ५० प्रतिशत मात्रै उपलब्ध हुँदै आएको थियो। यसका कारण अस्पताल आर्थिक रूपमा दबाबमा परेको र सेवा निरन्तर सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको अस्पताल प्रशासनको भनाइ थियो ।
सेवा स्थगन गरिएको समयमा अस्पतालले स्वास्थ्य बिमा बोर्डबाट करिब ४० करोड रुपैयाँभन्दा बढी दाबी रकम भुक्तानी हुन बाँकी रहेको जानकारी दिएको थियो । लामो समयपछि पुनः ओपीडी सेवा सञ्चालनमा आउन लागेकाले स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार गराउँदै आएका हजारौं सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।
अस्पतालले सेवा पुनः सञ्चालनसँगै स्वास्थ्य बिमाका सेवाग्राहीलाई सहज, प्रभावकारी र गुणस्तरीय उपचार उपलब्ध गराउन आवश्यक व्यवस्थापन गरिएको जनाएको छ ।



