Click Chautari

२०८१ को आत्मासमिक्षा र २०८२ को संकल्प

संसारको जुनसुकै कुनामा भए पनि, समयले कहिल्यै कुर्दैन । हरेक वर्षको समाप्ति र नयाँ वर्षको सुरुवातसँगै हामीलाई एउटा अनुपम अवसर प्रदान हुन्छ, –आफ्नो जीवनको पुनरावलोकन गर्ने, आत्ममूल्यांकन गर्ने र आगामी यात्राका लागि भावि लक्ष्य निर्धारण गर्ने ।

जसरी कुनै व्यवसायिक संस्था वा परियोजनाको प्रगति मूल्याङ्कन गर्न लेखापरीक्षण गरिन्छ । सामाजिक उत्तरदायित्वको नापतौल गर्न सामाजिक परीक्षण आवश्यक हुन्छ । ठिक त्यसैगरी मानिसको जीवनमा पनि वर्षको अन्त्यमा आत्मपरीक्षण—आत्मासमीक्षा—गर्नु उत्तिकै जरुरी हुन्छ ।

मैले कति राम्रो काम गरे ? कति गल्ती गरे ? कसको मन दुखाएँ ? कसको जीवनमा साँचो अर्थमा केही योगदान दिन सके ? यस्ता प्रश्नहरू हामी प्रत्येकको हृदयको अन्तरआवाज हो, जसले वर्षको अन्त्यतिर आइपुग्दा हामीलाई झकझक्याउँछ, हाम्रो अन्तर्मनसँग संवाद गराउँछ । सोही अनुरुप मैले यो पटक आफ्नो जीवनको आत्मापरिक्षणको एउटा सानो प्रयास गरेकोछु ।

वि.सं. २०८१ सालः एक गहिरो आत्मिक अनुभव
आज वर्ष २०८१ को अन्त्यमा उभिएर जब मैले मेरो जीवनलाई एकपटक पछाडी फर्केर हेरे, तब धेरै कुरा अनुभुती गरे । सफलताका झिल्काहरू, असफलताका चिसो छायाँहरू, सम्बन्धका मिठा पलहरू, कतै कतै मन दुखाएका क्षणहरू, –यी सबै जीवनका विविध रङहरू जस्तै लागे ।

तर यी सबै बीचमा, मैले एउटा कुरा प्रस्ट देखे –“कमजोरी अरूमा थिएन, म स्वयं भित्रै थियो ।”

कसैसंग सम्बन्ध टुटेको थियो भने त्यो मेरो व्यवहारको कमजोरीले थियो ।, कसैले चित्त दुखाएको छ भने त्यो मेरो संवेदनशिलताको कमिले र यदि जीवन कतै दिशाहीन महसुस भएको छ भने त्यो मेरो अनुशासनको अभावले भएको पाए ।

हो त्यही बिन्दुबाट मैले आत्मविकासको यात्रा सुरु गरें ।

१०८ दिनको तपस्याः मनमाथिको विजय

वि.सं. २०८१ साल मेरो जीवनकै सबैभन्दा महत्वपूर्ण मोड थियो । –मनोविजय सम्बन्धी एक विशेष संकल्प ।

मैले १०८ दिनको गहन साधनाको यात्रामा लाग्ने निर्णय

रेँ । यो केवल आहारको नियन्त्रण मात्र थिएन, यो मेरो मन माथिको नियन्त्रण सम्बन्धी तपस्या थियो ।

मैले १०८ दिनसम्म मनले चाहेका खानेकुरा नखाने, जहाँ जान मन लाग्थ्यो त्यहाँ नजाने, र विशेषगरी नुन र अन्न सेवन नगर्ने अठोट लिएँ । यो कुनै धार्मिक वा सांस्कृतिक परम्पराको भाग थिएन । –यो आत्मिक शुद्धिकरणको प्रयत्न थियो । यो प्रयोग थियो कि के साँच्चै म मेरो मनका इच्छाहरूलाई नियन्त्रण गर्न सक्षम छु ?

सुरुवाति दिनहरुमा केही कठिनाइ भयो, शरीरले विरोध ग¥यो, मनले अनेक बहाना बनाए । तर क्रमशः जब म दिनप्रतिदिन यो यात्रामा अघि बढ्दै गएँ, तब मैले महसुस गर्न थालेँ । –म साच्चै नै आफूभित्रको शक्ति र संयमको स्रोतसम्म पुग्दैछु ।

यो अनुभवले मलाई केवल अनुशासित बनायो मात्रै होइन, जीवनप्रतिको सारा दृष्टिकोण नै बदलिदियो । मैले महसुस गरेँ—साँचो शक्ति बाहिरी संसारमा होइन, आफ्नै मनलाई विजय गर्ने क्षमतामा छ ।

हामी प्रायः शरीरको दास बन्दछौ, मनको इच्छाका अनुयायी बन्दछौ । तर साँचो स्वतन्त्रता भनेको त आफ्नै मनमाथी नियन्त्रण गर्ने शक्ती हो । जहाँ मैले त्यो शक्तिको मिठो स्वाद पाएँ ।

यो तपस्या मैले कसैलाई देखाउनको लागि होइन, आफैले आफैलाई चिन्नका लागि गरेँ । यो एक अघोषित युद्ध थियो, –आफु भित्रको लोभ, मोह, वासना, आदत र भावनाहरुसँग ।

अन्तत ः जब १०८ दिन पुरा भयो । म आफुलाई पहिलाभन्दा धेरै शान्त, सन्तुलित र संयमी महसुस गर्न थाले ।

सम्बन्धहरूको मिठास र तीतोपनः आत्मपरिक्षणको अर्को पक्ष

जीवन केवल साधनाले चल्दैन, यो त सम्बन्ध, व्यवहार र समाजसँगको संवादबाट बनेको जटिल चित्र हो । यो वर्ष केही सम्बन्धहरू मिठासपूर्ण बने, केही चिसिँदै गए, केहीमा पुनः नयाँ सुरुवात भयो ।

मैले गहिरो महसुस गरेँ—यदि कसैको मन दुख्यो भने त्यो मेरो असावधानी थियो । यदि कोही म बाट टाढा भए भने त्यो मेरो व्यवहार, मेरो समय व्यवस्थापन, मेरो बोलाइ वा ख्याल नगरेको कारणले भएको हुन सक्छ ।

अहंकार, व्यस्तता, आत्मकेन्द्रित सोच–यी सबै कारणले कहिलेकाहीँ हामी आफन्तहरूसँग दूरी बढाउँछौँ ।
तर आत्मासमिक्षाले मलाई यो बुझायोकि सम्बन्ध बिग्रनु केवल अर्काको गल्ती होइन, मेरो पनि त्यतिकै जिम्मेवारी थियो ।
त्यसैले, म खुलेर भन्छु—

– यदि मैले कोही आफन्त, मित्र वा साथीको मन दुखाएको छु भने म त्यसको पूर्ण जिम्मेवारी लिन्छु ।
– म क्षमाप्रार्थी छु र सम्बन्ध सुधारको लागि पूर्ण प्रयास गर्ने प्रतिज्ञा गर्दछु ।

समाजप्रतिको जिम्मेवारी ः आत्माविकास सँगै सामाजिक सोच

व्यक्तिगत तपस्या जति महत्वपूर्ण छ, त्यत्तिकै महत्वपूर्ण छ हाम्रो सामाजिक चेतना । हामी यही समाजको अभिन्न अङ्ग हौँ । हाम्रो सानो व्यवहारले समाजमा धेरै ठूलो प्रभाव पार्न सक्छ ।
मलाई महसुस भयो—
– म आफू परिवर्तन भएर मात्र हुँदैन,
– म आफूसँग जोडिएका मानिसहरूलाई पनि प्रेम, सकारात्मकता र प्रेरणाले छुन सक्नुपर्छ ।

यदि मैले आफ्नो अनुशासन, आत्मसंयम र साधनाबाट कसैको जीवनमा एउटा सानो प्रेरणा पनि छर्न सकेँ भने, त्यो मेरो लागि ठूलो उपलब्धि हुनेछ ।

गल्तीहरूः आत्मस्वीकृतिको बाटो

जीवन केवल तपस्या र सफलता मात्र होइन, गल्तीहरू पनि यसको अभिन्न अङ्ग हुन । मैले वि.सं. २०८१ सालमा केहि सम्बन्धहरू बिगारेँ, कोही आफन्त टाढा भए, कसैको मन नचाहँदा नचाहँदै दुखाए । कहिलेकाहीं समय दिन सकिनँ, कहिलेकाहीं ध्यान नदिएर अपमान गरे ।

मेरा यी सबै कमजोरीका लागि म गहिरो आत्मस्वीकृति सहित क्षमा प्रार्थना गर्दछु । म विश्वास गर्छु—भूल मान्छेबाट नै हुन्छ, तर त्यसलाई दोहो¥याउनु मूर्खता हो । त्यसैले मैले आत्मासमीक्षा गरे, कमजोरीहरू चिनें, र ती सुधार्नका लागि नयाँ संकल्प गर्दैछु ।

आत्मिक यात्रामा नयाँ मोड

नयाँ वर्षको आगमन भनेको केवल नयाँ पात्रो परिवर्तन होइन, यो नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ जीवनशैली अपनाउने सुनौलो मौका हो । तसर्थ

यो वर्ष म केवल बाँच्ने छैन, जिउनेछु ।

यो वर्ष म केवल हाँस्ने छैन, अरूलाई पनि हँसाउनेछु ।

यो वर्ष म केवल सपना देख्ने छैन, तिनलाई पुरा गर्न कर्म गर्नेछु ।

यो केवल मेरो वर्ष होइन—हामी सबैको साझा आत्मजागरणको वर्ष हो ।

म कसैको मन नदुखाउने कोशिश गर्नेछु ।

म साना–साना सम्बन्धहरूलाई पनि माया, समझदारी र सहनशीलताले सिञ्चन गर्नेछु ।

म आलोचना होइन, आत्मपरीक्षण गर्नेछु ।

म आफ्नो दोष अरूमा थोपर्ने होइन, आफै जिम्मेवारी लिने छु ।

म विश्वास गर्छु—मानव जीवनको सार नै सम्बन्धमा हुन्छ, र ती सम्बन्धलाई माया, संवेदना र क्षमाशीलताको बलमा मात्र कायम राख्न सकिन्छ ।

नयाँ वर्ष २०८२ ः शुभकामनाका साथ नयाँ सुरुवात

नयाँ वर्षको बिहान केवल पात्रो पल्टाउने काम मात्र होइन, यो आत्मा पल्टाउने, जीवनको पाना फेरि लेख्ने, र नयाँ शुरुवात गर्ने उपयुक्त समय हो ।
यस नयाँ वर्ष २०८२ को पावन अवसरमा म हृदयदेखि शुभकामना व्यक्त गर्न चाहन्छु—

सम्पूर्ण मेरा आफन्त, गुरुजन, साथी÷सङ्गी, शुभचिन्तकहरू र नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यो नयाँ वर्षले तपाईँको जीवनमाः

नयाँ उमङ्ग ल्याओस,

नयाँ उत्साह प्रदान गरोस,

सकारात्मक सोचले भरिपूर्ण बनोस,

सफलताको नयाँ द्वारहरु खुलोस ।

हामी सबैको जीवनमा

बत्तिसै दिशाबाट धन, दौलत, यश, ऐश्वर्य, सुख र शान्तिको भारि वर्ष होस ।

मनमा शान्ति, परिवारमा माया, समाजमा सद्भाव र राष्ट्रमा समृद्धि होस ।

समाप्तिमा ः आत्मविकासकै यात्रा हो नयाँ वर्ष

जीवन कुनै दौड होइन, —यो एक सतत यात्रा हो । यो यात्रामा कहिले हामी दौडिन्छौँ, कहिले थाक्छौँ, कहिले चिप्लिन्छौँ र कहिले उठेर फेरि अघि बढ्छौँ ।

तर सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, हामी आफैलाई चिन्ने, स्वीकार गर्ने र सुधार्ने साहस गर्नुपर्छ ।

आज २०८१ सालको अन्तिम दिन म आफ्नो आत्मालाई फेरि एकपटक ऐनामा हेरिरहेको छु—कमजोरीहरू सहित, शक्तिहरू सहित, आशाहरू र भयहरू सहित ।

र म विश्वासका साथ भन्छु— नयाँ वर्ष २०८२ साल मेरो लागि आत्मपुनर्निर्माणको वर्ष हुनेछ ।

हजुरहरू सबैलाई पनि यही शुभकामना—
नयाँ वर्ष २०८२ ले तपाईंको जीवनमा
स्फूर्ति, समृद्धि, सद्भाव, संकल्प र सफलता लिएर आवस ।
सम्पूर्ण प्राणी जगतको कल्याण होस ।

शुभकामनासहित,
एक आत्ममूल्यांकनशील जीवन यात्री ।
नेत्र विक्रम थापा (विवश)

मनकाे कुरा ब्यक्त गर्नुस
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.