गोलन्जोर–६ मा एक हायु परिवारका १६ जना बेपत्ता, घरमा आगो लगाइएकाे, जनावर भोकै छाडिएकाे । पछि पोखरामा फेला परेपछि उठेका गम्भीर प्रश्नहरू ।
हिजो प्राय समाचार माध्येमहरुको मुख्य हेडलाइन बनेको थिए सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नं. ६ मा एउटै घरको १६ जना परिवारको रहस्यमय वेपत्ताको खवर । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पा नजिकको एक हायु परिवारका १६ जना सदस्य अचानक सम्पर्कविहीन भएपछि सिर्जिएको रहस्य, सन्देह र सामाजिक सवालहरू अहिले चर्चाको केन्द्रमा छन् । केही दिन बेपत्ता रहँदा स्थानीयस्तरमा त्रास मात्र होइन, प्रहरी प्रशासन र समुदायसमेत अलमलमा परेको थियो । तर, पछि उनीहरू सबै पोखराको एक होटलमा फेला परेपछि घटनाले नयाँ मोड लिएको छ ।
यस घटनाले सतही रुपमा हेर्दा “बसाइँसराइ” वा “व्यक्तिगत निर्णय” देखिन सक्छ । तर, त्यो भन्दा गहिराइमा सामाजिक संरचना, पारिवारिक जिम्मेवारी, पशुप्रति उत्तरदायित्व र समुदायप्रतिको इमानदारीसमेत जोडिएको गम्भीर प्रश्न उपस्थित भएको छ ।
घरमा आगो, बस्तुभाउ भोकै – किन यस्तो व्यवहार ?
उक्त परिवारको घर जलेको अवस्थामा भेटिएको थियो । साथमा रहेका गाईगोरु, कुखुरा, कुकुर लगायतका जनावरहरू भोकभोकै छाडिएका थिए । समाजमा यस्ता अबोध पशुहरूको पीडा बुझ्ने भावनात्मक दृष्टिकोण हुँदाहुँदै पनि घरका मालिकहरूले यति लापरबाही देखाउनुले घटना स्वाभाविक नभई योजनाबद्ध भएको आशंका झनै बलियो बनाउँछ ।
यदि ती परिवारले साँच्चै आफ्ना समस्याबाट थाकेर नयाँ जीवन सुरु गर्न चाहेका थिए भने, उनीहरू जनावरलाई बेचेर वा छाडेर जान सक्थे । घरमा आगो लगाएर जानु केवल व्यक्तिगत निर्णय मात्र होइन, समाजप्रति देखाइएको बेइमानी पनि हो । यसले समुदायमा त्रास फैलायो, प्रहरी प्रशासनको स्रोत साधनको दुरुपयोग गरायो र सामाजिक जिम्मेवारीकाे बोधमै दरार ल्यायो ।
सामाजिक सुरक्षा भत्ता पाउने तर समाजसँग विमुख ?
उक्त परिवारले सरकारबाट सामाजिक सुरक्षा भत्ता लिँदै आएको खुलेको छ । यो तथ्यले घटनालाई अझै संवेदनशील बनाएको छ । सरकारबाट नियमित राहत, भत्ता वा सुविधा लिने र त्यसै समाजलाई झुक्याएर यति ठूलो कदम चाल्नु कुन नैतिकतामा पर्छ ?
सामाजिक सुरक्षा भत्ता सामाजिक समावेशिता र सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले दिइन्छ । तर जब त्यही सहयोग लिने व्यक्तिहरू समाजप्रति नै असंवेदनशील हुन्छन्, त्यसले पूरै प्रणालीप्रति प्रश्न उठाउँछ । यस्तो घटनाले अर्को पीडित समुदायको अधिकार खोसिने सम्भावना पनि निम्त्याउँछ ।
नियतमा प्रश्न उठाउनु किन जरुरी छ ?
होला, उनीहरूलाई केही पारिवारिक, आर्थिक वा मानसिक पीडा थियो होला । देशको सामाजिक परिस्थिति, बेरोजगारी, शिक्षा र स्वास्थ्यको पहुँचको कमी, जातीय भेदभाव जस्ता कारणले मानिसहरू कहिलेकाहीँ यस्तो चरम निर्णय लिन बाध्य हुन्छन् । तर नियत पारदर्शी नहुनु, घटनालाई नाटकीय बनाउनु, घर जलाउनु र जनावरलाई पीडामा पार्नु कुनै पनि हालतमा स्वीकार्य हुँदैन ।
यस्तो घटनाले भविष्यमा अरूलाई पनि समाजबाट बेपत्ता भई नाटकीय रूपमा पुनः देखा पर्ने प्रेरणा दिन सक्छ, जुन दीर्घकालमा सामाजिक अव्यवस्था निम्त्याउने खतरा बनिदिन्छ ।
अनुसन्धान र दीर्घकालीन समाधान जरुरी
यस घटनाको गहिरो अनुसन्धान हुनु अत्यावश्यक छ । के साँच्चै उनीहरू कुनै ठूलो संकटमा थिए ? के कसैले उक्साएको हो ? के उनीहरूलाई कुनै लुटीने भय थियो वा मानसिक तनाव ? यी सबै कुरा तथ्यसहित पत्ता लगाउनु आवश्यक छ ।
साथै, यस्ता घटनालाई रोक्नका लागि स्थानीय सरकार, समुदाय, सामाजिक संस्थाहरू र सुरक्षा निकायबीच गम्भीर समन्वय हुनु आवश्यक छ । जनताको पीडा बुझ्ने सामाजिक सेवाहरू, मानसिक परामर्श केन्द्रहरूको पहुँच र सामाजिक उत्तरदायित्वको चेतना फैलाउन दीर्घकालीन योजना आवश्यक छ ।
गोलन्जोरको यो घटनाले हाम्रो समाजलाइ एउटा गहिरो चोट दिएकाे छ – स्वतन्त्रता र स्वेच्छाचारिताबीचको रेखा हराउँदै गएको । हामी सबैले बुझ्न जरुरी छ, स्वतन्त्रता भनेको जिम्मेवारीविहीन छुट होइन । यो समाजभित्र बस्ने हरेक व्यक्तिको कर्तव्य हो कि आफ्नो निर्णयले अरूको जीवन, भावना र समाजको स्थायित्वमा असर नपरोस् ।
अन्ततः, यो घटनाले हामीलाई चेतावनी दिएको छ – संवेदनशीलता, उत्तरदायित्व र पारदर्शिता बिना समाजमा स्थायित्व सम्भव छैन । स्वतन्त्रता पनि तबसम्म मूल्यवान् हुन्छ, जबसम्म त्यो अरूलाई पीडा नदिने र सत्यको बाटोमा आधारित हुन्छ ।