आज पनि आँखा चिम्लिँदा त्यो बिहान स्पष्ट देखिन्छ—घामले उक्लदै गरेको सुनौलो किरण, अनि मेरो सहायक ब्यवसाय लेकाली चार्जिङ्ग स्टेशनमा भाइहरु नभएको कारण इलेक्ट्रिक गाडी चार्ज गर्नतिर निस्किएको म, अनि अचानक रातो मोटरसाइकलमा देखा पर्नु भएको राजकुमार दाइ ।
‘के हो दाजु ! भाइलाई हेर्दै नहेरी जानुभएको, किन यस्तो ?’ मैले ठाडै पाराले सोधेँ ।
सायद दाइलाई केही संकोच लाग्यो होला, मोटरसाइकल फर्काएर हाँस्दै भन्नुभयो, ‘जाने हो तिमी पनि ?’
सुरुमा कहाँ भन्ने नसोधी ‘जान्नँ’ भन्दिए । अनि फेरि तत्कालै दाइलाई सोधेँ, ‘तपाई हिँडेको चाहिँ कहाँ नि ?’
दाइले ‘विखरकटेरी, हायु परिवारको घरमा’ भन्नुभयो । विखरकटेरी त्यही गाउँ हो, जहाँ केही दिनअघि एउटै घरको १६ जना सदस्य रहेको हायु परिवार नाटकीय रूपमा बेपत्ता भएर राष्ट्रिय चर्चाको विषय बनेको थियो । र, त्यही परिवार केही दिनअगाडि मात्रै गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्षको एकल प्रयासमा गाउँ फर्किएको थियो ।
विखरकटेरी सुन्नासाथ मैले केही नसोचीकनै एकै सासमा भनिदिएँ, “ओ हो! त्यहाँ त जाने नि दाजु ! किन नजानू?” त्यसपछि हतार–हतार एक–एक कप लेमन टी खाएर मैले आफ्नो क्यामेरा भिरेर हामी ८ः२५ बजेतिर विखरकटेरीतर्फ लाग्यौँ ।

०००
खुर्कोट हुँदै सुगुरे सम्मको यात्रा
लेमन टीको हल्का न्यानोपन लिएर क्यामेरा काँधमा झुन्ड्याउँदै म दाइको बाइकमा बसेँ । बाटोमा खुर्कोटसम्म पुग्दा वडाध्यक्ष रविन श्रेष्ठ पनि हामीसँगै जोडिनुभयो । उनको उपस्थिति यात्रामा अझै अर्थपूर्ण बन्यो—मानौँ यो कथा अधुरो हुन्थ्यो, यदि उनी त्यहाँ नभएको भए ।
तर, जब पक्की बाटो सकियो र उकालो सुरु भयो, राजकुमार दाइले बाइक मलाई सुम्पिनु भएको क्षण अझै सम्झिन्छु ।
पक्की बाटोभरि राजकुमार दाइले मोटरसाइकल चलाउनुभयो । बासेश्वर गाविसको सुंगुरे भन्ने ठाउँमा पुगेपछि पक्की बाटो सकियो । त्यसपछि कच्ची बाटो सुरु भयो । अलिकति उकालो लाग्नेबित्तिकै राजकुमार दाइले भन्नुभयो,
‘विवश अब बाइक तिमी चलाऊ है ?’ बाटो कच्ची र अप्ठ्यारो पनि थियो ।
मैले जिस्किएर राजकुमार दाइलाई भनेँ, ‘दाजु बाटो देखेर डर लाग्यो कि क्या हो !’
त्यो अक्कर ठाडाबाटो त्योमाथि तलहेर्दा सात्तो उडने बाटो देखेर डर त मलाई पनि नलागेको कहाँ हो र ! अर्काको मोटरसाइकल, त्यो पनि पहिलोपटक चलाउनु पर्ने थियो । तैपनि दाइले भनिसकेपछि नाइ भन्नसकिन र मानसिक रुपमा तयार भएँ ।
दाइले हल्का हाँस्दै भन्नुहुन्थ्यो, ‘डरै लागेको त होइन, तर बाटो धेरै डेंजर रहेछ ।” उहाँले अप्रत्यक्ष तरिकाले आफ्नो डर ब्यक्त गर्नुभएको थियो ।
त्यो बेला मभित्र दुई मान्छे लडिरहेका थिए—एक, जो डराइरहेको थियो, र अर्का, जसले डरलाई जित्नुपर्ने थियो । अन्ततः मैले दुस्साहसलाई रोजेँ । बाइक उकालो चढ्दा मेरो आत्माले पहिलो पटक साहसको असली अर्थ महसुस ग¥यो ।
०००
हायु परिवारसँग बिताएको पल
वडा अध्यक्ष रविनको पुख्र्यौैली घर पुग्दा भेटिए १४–१५ जना मानिस— जो थकित, त्रसित, निराश, तर अझै आशा खोजिरहेका । उनीहरूको अनुहारमा मैले देखेको पीडा शब्दमा समेट्नै गाह्रो छ । मानौँ ती आँखाहरूले हामीलाई भन्दा बढी आकाशलाई प्रश्न गरिरहेका थिए । भगवान के तेरो न्याए यहि हो ?

डेढ घण्टा बित्यो, उनीहरूको विगत, बेपत्ता हुने कारण, अनि फर्किएको जीवन सुन्दै । कयौपटक उनीहरुको ब्यथा सुन्दा आफ्नै आँखा पनि नरसाएका हैनन । तर, त्यस डेढ घण्टाले मलाई केवल उनीहरूको कथा सुनाएन, बरु जीवनको असमानता, राज्यको बेवास्ता र मान्छेको भोगाइ कुन हदसम्म हुदोरहेछ भन्ने सम्झाइदियो ।
०००
जंगलभित्रको मौन घर
तर यात्रा त्यत्तिमै रोकिने भएन । राजकुमार दाइको अनुरोधले हामी पुरानो गाउँ हिँड्यौँ । बलेनीबाट सुरु भएको त्यो ‘घनघस्याङको उकालो’ वास्तवमा केवल बाटो थिएन—उकालो हाम्रो धैर्यको, ओरालो हाम्रो थकाइको, र पग्लिँदो पसिनासँगै आत्मापरिक्षण थियो ।
मध्यपहाडी लोकमार्गको बाटो करिब ६/७ किलोमिटर अगाडि बढेपछि बलेनी पुग्यौँ । त्यहाँबाट फेरि सुरु भयो ‘घनघस्याको उकालो’ । त्यो ठाडो उकालोमा हामी दुईजना बाइकमा जान सक्दैनौँ भन्ने बुझेर वडाध्यक्षले हाम्रा लागि दुईवटा बाइक र चालकको व्यवस्था गरिदिए । राजकुमार दाइलाई अर्कै बाइकमा चढाइदिएर मैले बाइक सिंगल चलाएँ ।

बाटोभरि मनमा अनेक जिज्ञासा आइरहे । किनकि हामी हायु परिवारको सबै कथा/व्यथा सुनेर आएका थियौँ । र, उनीहरुको अवस्थिति बुझ्न उनीहरुको पुरानो गाउँ जाँदै थियौँ । करिब ९ किलोमिटर कच्ची सडकमा बाटोभरि बाइक लडाउँदै, उठाउँदै नाँकै ठोक्किएला जस्तो उकालो उक्लिएपछि हाम्रो मोटरसाइकलको यात्रा टुंगियो । अगाडि मोटरसाइकल जाने बाटो थिएन, त्यहाँबाट हाम्रो पैदल यात्रा सुरु भयो ।
हाम्रो यात्रा सानैमा पढिएको ‘घनघस्याको उकालो’भन्दा पनि कठीन थियो । अलिकति ठाडो उकालो चढ्यो, फेरि ओरालो झ¥यो । हिँड्दाहिँड्दा थकाइले चुर भइसकेका थियौँ । बाटोभरि वडाध्यक्षलाई सोध्थ्यौँ, ।
‘अध्यक्षज्यू, आइपुग्न लागेन ?’
‘त्यहाँ पुग्न सजिलो छैन सर, अझै तलछ,’ हरेकपटक उहाँको जवाफ दोहोरिन्थ्यो ।
झन्डै आधा घन्टाको हिँडेपछि वडाध्यक्ष रोकिनुभयो । र, पर देखाउँदै भन्नुभयो, ‘ऊ त्यहाँ हो घर ।’
त्यो विचमा मेरो मनमा वडाअध्यक्ष रविन कुमार श्रेष्ठको त्यो हायु परिवार प्रतिको लगावले रविन जस्ता जनप्रतिनिधि पनि हुँदारहेछन भनेर उनीप्रति एउटा छुट्टै सम्मान जाग्यो ।

सल्लोको जंगलले घेरेको अनकन्टार त्यो एक्लो घर, प्रत्येक ढोकामा सिन्दुर र अक्षता पोतिएको, अस्तव्यस्त त्यो घर—मानौँ त्यहाँ मान्छे होइन, केवल मौनआत्मा बसोबास गरिरहेको थियो ।
त्यो घरभित्र पस्दा समय थामिएको जस्तो लाग्यो । हामी सबै स्तब्ध थियौँ—शरीरले मात्र होइन, आत्माले पनि त्यो मौनता महसुस गरिरहेको थियो । त्यहाँको सबै विग्रीएको अवस्था, त्यो भद्रगोल र नाजुक घरको स्थीतिले र केहीसमय अगाडी हायुपरिवार संगभएको अन्तरंगले त्यहाँ के भएको थियो सहज अनुमान लगाउन सकिन्थ्यो ।
०००
भोक र मकैको मिठास
हायु परिवार बस्दै आएको घर पुग्दा दिउँसो करिब साढे १२ बजिसकेको थियो । करिव डेढघण्टाको त्यहाँको बसाई पछि हामी त्यहाँबाट फर्कनुपर्ने पनि थियो ।
त्यतिवेलासम्म भोकले पनि लखतरान पारिसकेको थियो । बिहान खाएको लेमन टीबाहेक पेटमा अन्न केही परेको थिएन । त्यहाँ एक–अर्काको अनुहार हेर्नुबाहेक विकल्प पनि केही थिएन । फर्किने क्रममा करिब ४५ मिनेट उकालो चढेपछि अर्का एकजना हायु परिवारको घर भेटियो । मकैबाली भित्र्याइरहेका हायु दाइले आदरसाथ सोध्नुभयो, ‘पानी पिउनुहुन्छ ।’

भोकाएको पेटलाई पानीले पनि राहत दियो । हाम्रो अवस्था देखेर होला, फेरि सोध्नुभयो, ‘भोकाउनुभयो होला, मकै र काँक्राछ, खानुहुन्छ ?’
हामीले हुन्छ भन्ने भावमा टाउको हल्लायौँ । ८२ वर्षीया हजुरआमा सुकुमाया हायुले प्रेमपूर्वक मकै र काँक्रा दिनुभयो । त्यो वेला मकै र काँक्रा यति स्वादिलो लाग्यो कि अहिले पनि स्वाद जिब्रोमा ताजै छ । भोकाको सुरमा झण्डै ६ घोगाजति मकै त म एक्लैले बजाएछु । त्यहाँपनि वडाअध्यक्ष रविनले यत्रो गाउमा आएर दाइलाई दुःख दिइयो दाइको के सित्तैमा खानु विचरा बुढी हजुरआमाले दुःख गर्नुभएको छ त्यसैले खै डोको दिनु त भनेर तल बारीमा गएर दुई डोको मकै ओसारीदिनु हुँदाको त्यो पल मेरोलागी झनै प्रेरणदायी बन्यो कि यस्ता जनप्रतिनिधी सबैठाउमा भएको भए देश आज किनपो पछाडी पथ्र्योहोलार ।

आत्मादेखि वडाअध्यक्ष प्रति उच्च सम्मान ब्यक्तगर्दै करिव सवा चार वजेतिर हामी पुनः उकालो–ओरालो गर्दै आफ्नो बासस्थान तर्फ फर्कियौँ– थकाइ, सन्तोष, प्रश्न र गहिरो अनुभूतिको भारी बोकेर ।
भोकाएको पेटमा त्यो मकै अमृत बन्यो । त्यो घोगा मकैसँगै मैले पाएको प्रेम, न्यानोपन र मानवीय उष्णता अझै जिब्रोमा ताजा छ ।
रविन दाइले बारीबाट डोकोमा मकै बोकेको दृश्य—त्यो दृश्य आजसम्म मेरो मनमा झल्झली बाँचिरहेको छ । त्यतिबेला लाग्यो, ‘देशमा यस्ता जनप्रतिनिधि भएको भए हामी यति पछाडि त पर्थेनौँ होला १’
०००
सम्झनामा बाँकी
सवा चार बजेतिर हामी उकालो–ओरालो गर्दै फर्कियौँ । शरीर थकित, तर मन भारी—थकाइभन्दा गहिरो प्रश्न र भावनाको भारी बोकेर ।
आज जब म त्यस दिनलाई सम्झन्छु, त्यो यात्रा केवल बाटोको सम्झना होइन । त्यो यात्रा हो— हराएको गाउँको मौनता, भोकमा बाँडिएको मकैको मिठास र जनप्रतिनिधिको असली अर्थ । त्यसैले, विखरकटेरी मेरो लागि केवल एउटा स्थान होइन, जीवनले सिकाएको गहिरो पाठ हो—
मान्छे केवल खानकालागि बाँच्छैन, उसलाई मानवताको उष्णता र आत्मीयताको साथ पनि चाहिन्छ ।